बुटवल,१२ माघ ।
नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले पार्टीको आधिकारीकता विवादमा निर्वाचन आयोग अनिर्णित बनेको टिप्पणी गरेका छन् ।
पाटीर्को आधिकारीकता सम्बन्धी बिवादमा निर्वाचन आयोगले कुनै पनि निर्णय गर्न नसक्नु उसको कमजोरी भएको बताए ।
रुपन्देहीको भैरहवामा सोमबार लुम्बिनी प्रेस क्लबद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका भुसालले आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताए ।
आयोगले नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टि गर्नुले आफूहरुनै आधिकारिक भएको प्रष्ट भएको उनको भनाइ छ ।
बहुमत केन्द्रीय सदस्य भएको प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको उनले दाबी गरे ।
पार्टीमा एकतिहाइ भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाइ भोट ल्याउँछु भन्नु ठूलो प्रहसनबाहेक केही नभएको नेता भुसालले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै एक तिहाइभन्दा तल छन्, यस्तो अवस्थामा दुई तिहाइ ल्याउँछु भन्नु आफैँमा नौटंकी नै हो–नेता भुसालले भने ।’
अहिले मुलुकमा चलिरहेको नाटकमञ्चनबाटै चुनाव हुँदैन भन्ने निश्चित भएको उनको भनाइ छ ।
संविधान च्यातेर, लोकतन्त्रलाई घाइते र असफल पारेर निर्वाचन हुनै नसक्ने उनले बताए ।
अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्यप्रमाणले पनि संसद जीवितै छ भन्ने पुष्टि भएको बताउँदै उनले ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दाबी गरे ।
उनले संविधानको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने विचार व्यक्त गरे ।