Share this News on Social Networking Pages

वुटवल, ११ माघ ।
नेकपा दाहाल–नेपाल समूहका नेता वर्षमान पुन ‘अनन्त’ले केपि शर्मा ओली कानुनी रुपमा प्रधानमन्त्री नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएको मान्ने हो भने ओली जी प्रतिनिधि सभा सदस्य नै नभएपछि उहाँ कसरी प्रधानमन्त्री हुनुुभयो’ भनेर प्रश्न गरे ।

संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने उनको जिकिर छ ।

आदिवासि जनजाती महासंघ नेपाल, जिल्ला समन्वय समिति रुपन्देहीले आईतबार बुटवलमा गरेको समसामयिक राजनितिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो कुरा बताएका हुन् ।

संसद विघटन गरेर चुनावको घोषणा गर्दा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने र राष्ट्रपतिबाट चुनाव सम्पन्न गर्नका लागि कामचलाउ सरकारको रुपमा काम गर्न आग्रह गर्नुपर्नेमा त्यसो नगरिएकोले पनि वर्तमान सरकार अवैधानिक रहेको उनको तर्क छ ।

ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नै कुर्ची र नेपाली जनतामाथि घात गरेको उनले बताए ।
प्रतिनिधि सभा विघटन गरेर ओली नेतृत्वले संघियता, धर्मनिरपेक्षता, समावेशितालाई खोस्न खोजेको पुनको आरोप छ ।
संसद विघटन राष्ट्रिय÷अन्र्तराष्ट्रिय शक्तिसँग मिलेर गरिएको समेत उनको भनाई छ ।

बैशाखमा निर्वाचन पनि नहुने भन्दै नेता पुनले संसद विघटन गर्न लगाउने शक्तिले बैशाखपछि प्रधानमन्त्री ओलीलाई कामचलाउ प्रधानमन्त्रीको हैसियतबाट समेत निकाल्ने ठोकुुवा गरे ।

नेकपा दाहाल निकट मानिने नेता पुनले प्रधानमन्त्रीले आलोचना र टिप्पण्ी सुन्न समेत नचाहेको भन्दै आक्रोश पोखे ।

उनले पञ्चायतकालमा आफ्ना विरुद्ध मुद्धा लडेका एक जना वकिललाई बाजे वकिल भनेर अपहेलना गर्नुले प्रधानमन्त्रीको हैसियत पुष्टि भएको बताए । पुनले प्रधानमन्त्रीलाई सम्झाउन प्रधानमन्त्री ओली निकट रहेका महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह समेत गरे ।

पत्रकार,वकिल र नागरिक समाजका अगुवाहरुप्रति तल्लो स्तरमा झरेर गालीगलौजमा उत्रिएका प्रधानमन्त्री ओलीलाई त्यसो नगर्न सम्झाउनुपर्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले एउटा जिल्लामा ४२ जनाको मात्रै भेला गरेर प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्ने प्रयास गरेको टिप्पणी गरे ।

गुटभेला गर्नका लागि मुख्यमन्त्री पोखरेलले एक पटक सिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेको पुलको पुन सिलन्यास गर्ने कार्यक्रम राखेकोमा आश्चर्य व्यक्त गरे ।

हिजोका दिनमा १ हजार÷१२ सयको हाराहारीमा कार्यकर्ताको सहभागितामा जिल्ला भेलामा सम्बोधन गर्नुभएका मुख्यमन्त्री पोखरेलले सिङ्गो जिल्लामा जम्मा ४२ जनामात्रै सहभागि हुँदा समेत त्यसको कारण खोज्न नलागि २ बर्ष अगाडी सिलन्यास भएर ३ वटा पिलर उठाइसकेको पुलको पुन सिलन्यास गरेर जनता हसाउने काम नगर्न सुझाव दिए ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले संसद विघटन प्रतिगामी कदम भएकाले आफूहरु आन्दोलनमा होमिएको बताइन् ।

यसैगरि कार्यक्रममा प्रदेशसभा सदस्य बसन्त घर्तीमगर, मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य डिबि पुन, तमूराष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य धन बहादुर गुरुङ, जनजाती महासंघ रुपन्देहीका इन्चार्ज मनोज राना, सरिता श्रीस, मिलन गुरुङ लगायतले बोलेका थिए ।