Share this News on Social Networking Pages

काठमाण्डौ,११ माघ ।
भारतको उत्तराखण्ड सरकारले हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको छ ।

सृष्टिलाई आज २४ जनवरीका दिन राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो ।

उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उदेश्यले उनलाई मुख्यन्त्री बनाएको बताइन् ।

आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकोप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताइन् । यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्ने र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेको सृष्टिले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि सहभागी रहेका छन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो ।