काठमाण्डौ,११ माघ ।
कोरोना खोपको अभावमा यूरोपका विभिन्न देशमा खोप अभियान स्थगित गरिएको छ ।
बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ । युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।
अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।
संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको जनाइएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कैयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ ।
गएको हप्ता फाइजरले आउँदा केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।
इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपियन युनियन (ईयू)ले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।