Share this News on Social Networking Pages

सिन्धुपाल्चोक,१० माघ ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवरोध भएको छ ।

प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका तामाङ कार्यकर्ता भेलाको सम्बोधनका लागि गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गर्दा बीचबाटोमै सडकमा रुख ढालेर अवरोध गरिएको हो ।

जिल्लाको इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मन्त्री तामाङलाई मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए ।
स्थानीयले ढालेका रुख र नाराबाजीलाई प्रहरीले नियन्त्रणमा लिएपछि मन्त्री कार्यक्रमस्थल पुगेका छन् ।

करिब ४ घण्टा बाटो अवरोध गरेर कालो झण्डा देखाएपछि मन्त्री तामाङ कार्यक्रम स्थल पुगेका हुन् । मन्त्री तामाङ गृहमन्त्री रामबहादुर थापा बादल निकटका भएको बताइएको छ ।
गृह जिल्लामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको पकड रहेको छ । तर, गृहमन्त्री निकटका तामाङ ओली पक्षमा प्रवेश गरेपछि स्थानीयले गृह क्षेत्र प्रवेशमै अवरोध गरेका हुन् ।