केपी ओली कम्युनिष्ट आन्दोलनको दोस्रो केशरज संस्करण
बुटवल,१० माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको बताएका छन् ।
शनिबार नेकपा प्रचण्ड–नेपाल समूहद्धारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएको र संविधान संशोधन गर्ने नभएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएकोले अदालतले संसद पुनस्र्थापना गरिदिने विश्वास व्यक्त गरे ।
वर्तमान संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै उनले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेकोले अदालतले संसद पुनस्र्थापित गरिदिने दाबी गरे ।
प्रधानमन्त्री केपीओली कम्युनिष्ट आन्दोलनको दोस्रो केशरजंग रायमाझी बनेको बताउदै उनले ओलीले कम्युनिष्ट आन्दोलन सहित मुलुकको लोकतन्त्र नै विसर्जन गर्न खोजेको आरोप समेत लगाए ।
‘केशरजंगले राजाबाट ‘कुु’ गराएर लोकतन्त्र राजालाई सुम्पेका थिए, केपीले आफै संविधानमाथि ‘कुु’ गरेर आफै राजा बन्न खोज्दैछन्’, ज्ञवालीले भने ।’
ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब कहिल्यै पनि कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउदै केपी ओलीले कम्युनिष्ट पार्टीको खोल ओढेर कम्युनिष्ट पार्टीलाई खत्तम पार्न थालेको आरोप लगाए ।
रायमाझीको कदम भन्दा केपी ओलीको कदम अझै खतरानाक भएको उनको भनाइ थियो । उनले रायमाझी भन्दा केपी ओली ठूलो प्रतिगमनकारी भएको दाबी गरे ।
केपी ओलीले नेतृत्व गरेको कम्युनिष्टको खोल ओढेको पार्टी केहिदिनका लागि मात्र भएको भन्दै उनले ओली नेतृत्वमा रहेका नेताहरु छिट्टै आफ्नो पार्टीमा आउने दाबी गरे ।
राष्ट्रलाई कमजोर बनाएर केपी ओलीले राष्ट्रघाती काम गरेको बताउंदै ज्ञवालीले राष्ट्रवादको नारा लगाउँदैमा कोही राष्ट्रवादी नभइने स्पष्ट पारे । ‘केपी ओली राष्ट्रघाती हुन्, जनघाती हुन्, कम्युनिष्ट विरोधी हुन् र उनी गणतन्त्र विरोधी हुन्, यो भन्दा ठूलो प्रमाण अरु केहि छैन’ ज्ञवालीले भने । ओलीले कम्युनिष्ट पार्टी खत्तम बनाउन खोजेपनि आफुहरुले बचाएको ज्ञवालीले दाबी गरे ।
ज्ञवालीले ओलीको गलत प्रवृति विरुद्ध पार्टीमा लामो लडाई गर्दै आएको बताउँदै एककीकरण पछि केपीमा अझै उन्माद बढेकाले दुर्घटना भएको बताए ।
उनले अबको नेकपाको यात्रा समाजवाद भएको बताउँदै जनवादी क्रान्तिको आधारभुत यात्रा पुरा भएकाले अवको यात्रा वैज्ञानिक समाजबाद भएको बताए ।
पत्रकार सम्मेलनमा नेकपाका युवा नेता ठाकुर गैरेले आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले गरेको अलोकतान्त्रिक र प्रतिगामी कदम सच्याउन आफूहरु लाग्न बाध्य बनेको बताए । गैरेले नेकपाका कार्यकर्ता कसैका दास बन्न नचाहेको बताउँदै कार्यकर्ताहरुसँग धेरै प्रश्न छन् ती प्रश्नको उत्तर नआउँदा सम्म आन्दोलन जारी रहने बताए ।
लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले विहिवार काठमाण्डौमा भएको विरोध सभा सुरुवात मात्र भएको बताए । उनले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको बताउँदै पार्टी एक नै भएपनि केपी ओलीको नेतृत्वमा अब एकिकृत पार्टी नहुने दाबी गरे ।
आगामी मघ १५ गते बुटवलमा हुने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले सो दिन राजमार्ग चौराह गोलपार्क, तिनाउपारीबाट जुलुस आएर पुष्पलालपार्कका विरोधसभा हुने जानकारी दिए ।
विरोधसभामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर हालैमात्र ज्ञवालीलाई पार्टी इन्चार्ज बनाएको थियो ।