काभ्रे,१० माघ । काभ्रे जिल्लाको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ।
जिल्लाकाे बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा शनिबार बिहान बम विष्फोट भएको हो।
प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ। सो पार्टीले आज नेपाल बन्द घोषणा गरेको छ।
प्रहरीले जानकारी दिएअनुसार शनिबार विहान ३:४५ बजेको समयमा जिल्लाको बनेपा-६ बुडोलस्थित सडक छेउमा (झोलामा कुकर जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको थियो।
सोही स्थानमा एउटा बम भने विष्फोट भएको हो। अहिले सो उक्त स्थानमा नम्बर १५ गण काभ्रेबाट १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट १ जना (बम डिस्पोजल टोली) खटिएको छ।
बम विस्फोट भएसँगै चेकजाँच गरी सवारी पास गर्ने क्रममा बनेपामा सवारी जाम नै लागको छ।
यस्तै, रोशी-८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
अरनिको र बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्।