Share this News on Social Networking Pages

बुटवल,९ माघ ।
रुपन्देहीको तिलोत्तमा भएको वालिका बलात्कारमा संलग्नलाई हदैसम्मको कानूनी कारबाही गर्न कुनै किसिमको कसर बाँकी नराख्ने स्थानीय प्रहरी प्रशासनले प्रतिवद्धता व्यक्त गरेको छ ।
महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको वुमन केयर नेपालद्धारा शुक्रबार घटनास्थल तिलोत्तमा नगरपालिका वडा नं १३ कवनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे र रुपन्देहीका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक प्रविण पोखरेलले घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न प्रहरी प्रशासनको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले घटनामा संलग्नलाई बढि भन्दा बढि सजाय दिलाउन प्रशासनको तर्फबाट कुनै कसर बाँकी नराख्ने भन्दै आगामि दिनमा त्यस्ता घटना घट्न नदिनेतर्फ स्थानीय सचेत हुनुपर्नेमा जोड दिए ।

रुपन्देहीका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक प्रविण पोखरेलले घटनामा संलग्न अभियुक्तले अपराध स्वीकार गरेकोले निजलाई हदैसम्मको सजाय हुने जानकारी गराउदै सोही अनुसार प्रहरीले मुद्धा अगाडी बढाएको बताए ।

घटनापश्चात सो क्षेत्रमा प्रहरीको गस्ती बढाइएको बताउदै प्रहरी उपरीक्षक पोखरेलले संकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

कार्यक्रममा तिलोत्तमा स्थित अविनास आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले पिडित वालिकालाई १२ कक्षासम्मको पठन पाठनको जिम्मा आफुले लिने बताए ।

स्थानीय शिक्षिका सरस्वती आचार्यले घटनापश्चात वालवालिकाहरु विद्यालय आउन डराएको भन्दै स्थानीय जनतामा सूरक्षाको प्रत्याभूती दिलाउनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा पिडित वालिकाकाका आफन्त तथा छिमेकीहरुले पिडित वालिकाको शिक्षा दिक्षा र रोजगारीको व्यवस्था गर्न माग गरेका थिए ।

वुमन केयर नेपालकी अध्यक्ष रीता केसीले घटनापछि समाजमा डर त्रासको वातावरण उत्पन्न भएको र वालिवालिकाहरु विद्यालय आउन डराइरहेको भन्ने थाहा पाएर प्रहरी प्रशासन र संघ संस्थाहरु पिडित परिवार तथा स्थानीयवासीको साथमा छन भन्ने प्रत्याभूती दिलाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

उनले पिडित परिवारलाई आवस्यक सहयोग गर्न वुमन केयर नेपाल तयार रहेको भन्दै आगामि दिनमा त्यस किसिमका घट्न नदिन जनचेतनामूलक कार्यक्रम पनि गरिने बताइन् ।