बुुटवल, माघ ९ ।
जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदन विघटनका विरुद्ध ससक्त आन्दोलनको विकल्प नै नभएको बताएका छन् ।
संविधान र लोकतन्त्रमाथि प्रहार गरेर मूलूकमा ठूलो दुर्घटना निम्त्याइएको भन्दै उनले आन्दोलनबाट प्राप्त उपलव्धि रक्षाका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भएर ससक्त आन्दोलनमा जानुको विकल्प नभएको बताए ।
प्रेस नेपालद्धारा शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले अहिले एक्लाएक्लै आन्दोलनमा उत्रेका राजनितिक दलहरुले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
उनले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत संविधान र लोकतन्त्रको रक्षाका लागि ढुलमुलमा नपर्न आग्रह गरे ।
राज्य संयन्त्र कब्जा गरेपछि मात्रै प्रधानमन्त्री केपि ओलीले प्रतिनिधिसभा विघटन गरेको बताउदै उनले प्रधानमन्त्री ओलीले अदालतलाई समेत धम्क्याउने खालका अभिव्यक्ति दिएको आरोप लगाए ।
राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान लगायतका संयन्त्रलाई आफू मातहत ल्याएपछि र अख्तियारलाई समेत आफ्नो प्रावमा पारेर मात्रै संसद विघटन गरिएकाले यो गम्भिर रहेको बताए ।
संसद विघटनमा गम्भीर षडयन्त्र भएकोले ओली कदमका विरुद्ध तेस्रो जनआन्दोलन गर्नुपर्ने आवस्यकता औल्याए ।
सर्वोच्च अदालतलाई समेत धम्की दिएकाले उसले निर्धक्क फैसला गर्नेमा शंका रहेको बताउदै डा. भट्टराईले अदालतको सूरक्षाका लागि जनता साथमा छन भन्ने सन्देश दिन पनि जनता सडकमा आउनुपर्ने विचार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीमा तानासाही शासक बन्ने महत्वकांक्षाका कारण राष्ट्रिय अनुसन्धान विभाग,राजश्व अनुसन्धान विभाग लगायतका संयन्त्र आफु मातहत ल्याएको भन्दै भट्टराइले प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न ससक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताए ।
‘ झण्डै दुुई तिहाई मत भएको सरकार र संसद विघटन गरेर चुनाव गर्न खोजिएको होईन, व्यवस्था नै भत्काउने गरि संसद विघटन गरिएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने –‘जनताको बलमा मात्रै प्रतिगमन सच्चाउन सकिन्छ ।’