बुटवल, ८ माघ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन बिरुद्ध सबै राजनीतिक दलहरुले संयुक्त संघर्ष गर्नुपर्ने बताएका छन् ।
संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने भन्दै उनले जनआन्दोलनका उपलब्धि रक्षाकालागि सबै राजनीतिक दलहरुले संयुक्त संघर्ष गर्नुपर्नेमा जोड दिए ।
सरकारको संसद विघटनको कदम असंबैधानिक ,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै अध्यक्ष केसीले यो कदम नसच्चिए २०६२÷०६३को आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको दावि गरे ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीद्धारा विहिवार बुटवलमा आयोजित प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न विषयक अन्तरक्रियामा वोल्दै उनले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको दाबी गरे ।
अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि नभएर सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण पार्टी विभाजित भएको बताए ।
गणतन्त्रमाथी ३ वटा शक्तिवाट खतरा रहेको भन्दै अध्यक्ष केसीले पहिलो राजावादी , दोस्रो विदेशी हिन्दु अतिवादी र तेस्रो वामपन्थी संकिर्णवादी शक्तिवाट खतरा रहेको बताए ।
वामपन्थी संकिर्णवादी शक्तिहरुको नियत प्रतिगामी नभएपनि उनिहरुको गणतन्त्रमाथीको हमलाबाट अन्तमा राजावादीहरुको आन्दोलनलाई नै मद्दत पुग्ने निश्चित भएको उनले ठोकुवा गरे ।
मुलुकमा स्थिर सरकार कायम राख्न, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न तथा प्रतिगमनकारी शक्तिको कदमलाई परास्त गर्नका लागि अग्रगमनका पक्षधर शक्तिहरुका बीच कार्यगत एकता गरि संयुक्त आन्दोलनलाई अगाडी बढाउनु आजको राष्ट्रिय आवश्यकता भएको अध्यक्ष केसीले जोड दिए ।