Share this News on Social Networking Pages

बुटवल,८ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गगनकुमार थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे खुरु खुरु घर जाने र घर गएर पनि नभए जंगल जाने जवाफ दिएका छन् ।

प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्दाको सुनुवाईका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहितका न्यायाधिसहरु र कानून व्यवसायीहरुबीच भएका सवाल जवाफतर्फ इंगित गर्दै कांग्रेस युवा नेता थापाले उक्त जवाफ दिएका हुन् ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिद्धारा बिहीबार बुटवलमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले भने ‘प्रतिनिधिसभा विघटन बिरुद्ध परेका रिटहरुमाथिको सुनुवाइका क्रममा न्यायाधिसहरुले वकिलहरुलाई प्रश्न गरेको सुन्दा वकिल भएर बहस गर्दै जवाफ दिन मन लाग्छ,बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गरे खुरु खुरु घर जाने नभए जंगलतिर जाने ।’

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक मात्रै नभएर अनधिकृत र चरम अराजनीतिक भएको भन्दै थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरेर चुनावमा जाने घोषणालाई सहि ठहराइए भविस्यमा दुइ तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीले मलाई सतप्रतिसत मत चाहियो भनेर संसद बिघटन गरेर चुनाव घोषणाको दुस्साहस गर्ने अवस्था आउने बताए ।

उनले भने–‘संविधानमा व्यवस्थै नभएको अवस्थामा पनि झण्डै दुइ तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गरेको ठिक हो भनेर भनियो भने भोलीका दिनमा दुइ तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीले संसदमा २÷४ जनाले सरकारको बिरोध गरे,संसदमा सरकारको बिरोध गरेको मन परेन,मलाई सतप्रतिसत बहुमत चाहियो भनेर संसद विघटन गरेर चुनावको घोषणा गर्न सक्छ, त्यस्तो अवस्थामा चुनावमा जाने कि नजाने ?’
संविधानमा प्रष्ट लेखिएको विषयमा संविधानमा यो लेखिएको छ भन्दा अदालतलाई प्रभावित गर्न खोजेको नहुने भन्दै उनले आफुहरुले लडेर ल्याएको संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको व्यवस्थामाथि कतैबाट आँच नआओस भन्ने आफ्नो चिन्ता रहेको बताए ।

पुस ५ को कदम चालिनुमा प्रधानमन्त्री ओली मात्रै दोषी नभएको भन्दै थापाले ओली प्रबृत्ति निर्माण गर्न उनका समर्थकहरुको भूमिका पनि दोषी रहेको बिचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जे गर्दा पनि ठिक छ भनेर ताली बजाउने अन्धभक्तहरुका कारण ओली प्रबृत्ति निर्माण भएको उनको भनाइ थियो ।

ओली प्रबृत्ति निर्माण गर्ने अवसर दिनेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि जिम्मेवार भएको बताउदै उनले मुख्यमन्त्री पोखरेललाई ओली प्रबृत्तिको दोस्रो संस्करणको रुपमा चित्रित गरे ।

मुख्यमन्त्री पोखरेल प्रदेशका काममा भन्दा प्रधानमन्त्री ओलीको लाज छोप्ने कार्यमा व्यस्त रहेको भन्दै थापाले ओलीको लाज छोप्न दौडिदा आफु सर्वाङ्ग भएको पोखरेलले थाहा नपाएको बताउनुभयो ।

नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा थरुनी,नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रिय सभापति हरी लम्साल,नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य जीत बहादुर मल्ल,नगर उपसभापति विमलराज भट्टराई,सचिव ज्योती भण्डारी लगायतले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको बिरोध गरेका थिए ।