Share this News on Social Networking Pages

काठमाण्डौ,२ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिए ।

पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै विष्णुप्रसाद पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको हो ।

संसद् विघटनपछि प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । यद्यपि उनी केन्द्रिय सदस्य कायम थिए । तर, ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

यस्तै बैठकले आउँदो माघ १६ गते काठमाण्डौमा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आउँदो तीन दिनभित्रमा पार्टीका रिक्त पदहरूमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरूलाई पनि टुङ्गो लगाउने निर्णय गरेको छ ।

शहीद दिवसको अवसर पारेर माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ ।