Share this News on Social Networking Pages

काठमाण्डौ,२ माघ ।
औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेको कोभिशिल्ड नामको कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको छ ।

भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि विभागले शुक्रबार अनुमति दिने निर्णय गरेको हो ।

विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ ।

भारतमा शनिबार (भोलि) देखि यो खोप आमनागरिकलाई लगाउने भारतले यसअघि नै घोषणा गरेको छ । सेरमले हालसम्म पाँच करोडभन्दा बढी डोज खोप उत्पादन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

विभागले बुधवार सूचना निकालेर कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो । अहिलेसम्म तीन आयातकर्ताहले आवेदन दिएको र आवेदन दिनेमध्ये दुई वटाको थप अध्ययन भइरहेको विभागले जनाएको छ ।

नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका परीक्षण गर्न अनुमति दिइसकेको छ भने भ्याक्जाइनले उत्पादन गरेको कोभ्याक्स–१९ खोपको परीक्षणका लागि पनि प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ ।