राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो भएको टिप्पणी
बुटवल, २ माघ ।
प्रतिनिधिसभा विघटनको विरोधमा ‘लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन’ रुपन्देहीले शुक्रबार दिउसो बुटवलमा मैनबत्ती जुलुस प्रदर्शन गरेको छ ।
‘न्याय मर्न दिदैनौ’ भन्ने ब्यानर सहित हातमा मैनबत्ति बालेर प्रतिनिधिसभा बिघटनको विरोध गरिएको हो ।
बुटवलको मिलनचोकबाट शुरू भएको मैनबत्ती जुलुस राजमार्ग चौराहामा पुगेर विरोधसभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्धबहादुर थापाले संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै असंवैधानिक कदम नसच्चिदासम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए ।
नागरिक आन्दोलन रुपन्देहीका संयोजक एंव मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधानको हत्या गरेको भन्दै प्रधानमन्त्री ओलीको कदमले मुलुक पुनःद्धन्दतर्फ धकेलिने चिन्ता व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले यसअघि राजाले संविधानमाथी कु गरेको तर, अहिले प्रधानमन्त्री केपि ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।
असंवैधानिक रुपमा गरिएको संसद विघटनले लोकतन्त्र र संविधानलाई नै संकटमा पारेकाले संसद पुनस्थापना नै अहिलेको एकमात्र बिकल्प भएको उनको भनाई थियो ।
नागरिक अगुवा पदम कार्कीले राष्ट्रपतिले संविधानको बर्को च्यातेर नागरिक समाजलाई जाडो बनाएको भन्दै संसद पुनस्थापना नहुदासम्म सडक संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिवक्ता बाबृुराम पाण्डे, नागरिक आन्दोलनका सचिब गुणाराम घिमिरे, वुमन केयरकी अध्यक्ष रिता केसी लगायतले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो बनाएको भन्दै संसद पुनस्थापना नहुदासम्म सडक संघर्ष जारी राख्ने बताए ।
मैनबत्ती जुलुसमा दुइदर्जन भन्दाबढी संघ संस्थाको सहभागिता रहेको थियो ।