Share this News on Social Networking Pages

काठमाडौँ,२ माघ ।
भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको पत्ता लागेको छ ।

पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको पत्ता लागेको हो । भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल आपूर्ति हुँदै आएको छ ।

बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको भारतीय अखबार नवभारत टाइम्सले जनाएको छ ।

नवभारत टाइम्सका अनुसार बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना हो । जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् ।

पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए ।

मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको नवभारत टाइम्सले जनाएको छ । करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो ।

महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।

पाइपलाइन बाटै डिजल चोरी भएपछि पाइपलाइनको सूरक्षामा थप प्रश्न उठेको छ ।