Share this News on Social Networking Pages

काठमाण्डौं,१ माघ ।
संसद विघटनको विरोधमा नेपाली काँग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सडकमै सुतेर प्रदर्शन गरेको छ ।

नेविसंघ शंकरदेव क्याम्पसका विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने नारा लेखिएको कालो कपडा शरीरमा लगाएका थिए ।
युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

विरोध सभामा नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले ओलीले ब्यप्त भ्रष्टाचार लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

रचनात्मक र प्रतिकात्मक नाराहरु सहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा,सुदिप बनाडी,दिल सैनाई,सुनिल पराजुली,आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।

संघका नेता मिलन खतिवडाले सञ्चालन गरेको विरोध सभामा संघका महामन्त्री युबराज पाण्डे, पुर्व केन्द्रीय सदस्यहरु सुशील भट्ट, रत्नहरी ढुंगेल, नेताहरू बिपिन अधिकारी लगायतले असंवैधानिक कदमका बिरुद्ध शसक्त प्रतिवाद गर्नुपर्ने बताएका थिए ।
संसद बिघटनकाे बिराेधमा नेविसंघले भोलि शुक्रबार देशभर दौड जुलुस गर्ने कार्यक्रम तय गरेको छ।