गुल्मी,१ माघ । जन्ती बोकेको जिप दुर्घटना हुँदा गुल्मीमा १४ जना घाइते भएकमा छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटबाट बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको प्रहरी चौकी पूर्तिघाटका प्रहरी सहायक निरीक्षक हरि किसन पुनले जानकारी दिए ।
जिपमा सवार १४ जना घाइतेहरूमध्ये कालीगण्डकी २ अर्बेनीका ५० वर्षका शिवलाल पाण्डेकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको शरीरका विभिन्न भागहरूमा बढी चोट लागेकाले थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको प्रहरी सहायक निरीक्षक पुनले बताए ।
दुर्घटनामा परी कालीगण्डकी २ अर्बेनीका ६० वर्षका ओमप्रकाश पाण्डे, ५५ का शोभाखर,५३ वर्षका खिमानन्द, १४ वर्षकी हिरा, ५ वर्षका शिरिष, २८ वर्षका गोविन्द, २५ वर्षका बेउला कृष्ण,२० वर्षका नवीन, २४ वर्षका हिमलाल,२६ वर्षकी तुलसा, १६ वर्षका विष्णु,२८ वर्षका चालक राजन,६५ वर्षका डण्डपानी न्यौपाने घाइते भएका छन् ।
उनिहरूको स्याङजाको मिर्मीमा रहेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। एक जना बाहेक अन्य घाइतेको अवस्था सामान्य रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिप माथिल्लो घुम्तीदेखि करिब २० मिटर तल सडकमा खसेको छ।