बालुवाटारको भोज खाएर नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको भन्दै जि न्युजको पनि बिरोध
बुटवल,२९ पुस ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नेकपाकै भातृ संगठन अनेरास्ववियुले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम खारेज गर्नुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय टेलिभिजन च्यानल जि न्युज नेपालमा बन्द गर्नुपर्ने, महङ्गी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले प्रधानमन्त्रीले जनमतको अपमान गरी संविधान विघटन गरेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेको उनको दाबी थियो ।
नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपटक नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको भन्दै प्रदर्शनकारीले नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गर्ने भारतीय टेलिभिजन च्यानल जि न्युज नेपालमा बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।