Share this News on Social Networking Pages

बुटवल,२७ पुस ।
लोकतन्त्र रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ ।

सञ्जालको संयोजकमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, सह–संयोजकमा पत्रकार महासंघ रुपन्देहीका सह सचिव कमल रायमाझी र वुमेन केयर नेपाल रुपन्देही अध्यक्ष रिता केसी क्षेत्री, सचिवमा पुष्पलाल मित्रता केन्द्र रुपन्देहीका सचिव गुनाराम घिमिरे लगायत रुपन्देहीमा कार्यरत बिभिन्न ३५ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सदस्य रहेका छन् ।

सञ्जालको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, संविधान सभा सदस्य विनोद पहाडी, नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पाण्डे रहेका छन् ।

नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटनका विरुद्ध शान्तिपूर्ण रुपमा सडक संघर्षमा रहेका नागरिक संगठनहरुप्रति एक्यवद्धता जनाउँदै साझा नागरिक आन्दोलनमा जोड दिने जनाइएको छ ।

त्यसैगरी राजनीतिक दलहरु पनि प्रतिगमनकारी, स्वेच्छाचारी, असंवैधानिक एवं अलोकतान्त्रिक कदम विरुद्ध साझा संघर्षमा उभिन समेत सबै नागरिकहरुमा हार्दिक अपिल गरिएको छ ।

उक्त सञ्जालले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी झण्डै दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचारै नगरी राष्ट्र र जनताको हित विरुद्ध असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्नुले देशमा राजनीतिक र संवैधानिक संकट सिर्जना भएको उल्लेख गरिएको छ ।

संविधानको कुनै पनि धाराले अख्तियारी नदिएको अवस्थामा भएको प्रतिनिधि सभा विघटनले भर्खरै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठाडो प्रहार गरेको उल्लेख गर्दै विज्ञप्तीमा मुलुकलाई संविधानसम्मत हिडाउन आम नागरिकको दायित्व र कर्तव्य भएको जनाईएको छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य बिनोद पहाडी, नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्धबहादुर थापा, बरिष्ठ पत्रकार तथा अधिबक्ता बालकृष्ण चापागाइ, नेपाल बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डे,राष्ट्रीय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की,ड्रीम देवदहका रुपन्देही अध्यक्ष सिद्धिचरण भट्टराई,पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष गुणाराम घिमिरे,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिक्रम खड्का,जवाफदेहिता निगरानी समितिका अध्यक्ष लालहरी पाण्डे,बुटवल जेसिजका अध्यक्ष गोपाल प्रसाद चापागाइ, चांदनी नेपालका भवानी प्रसाद पाण्डे,परिवर्तनका लागि महिला समूहका अध्यक्ष रिता सेन ओली,माहुरी होमका रबि शंकर ठाकुर,पत्रकार प्रकाश खनाल,स्कुल अफ डेमोक्रेशी रुपन्देहीका सचिब गोबिन्द बस्नेत लगायतले बोल्दै संसद बिघटन असंवैधानिक रहेकोले त्यसका बिरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।

संजालले तत्कालै मैनबैत्ती जुलुस र बुटवलमा बृहद नागरिक सभा गर्ने तयारी गरिएको संयोजक गोबिन्द खनालले जानकारी दिए ।