राजनैतिक दलका नेता–कार्यकर्ताहरुमा पद र पैसाको लोभका कारण समस्या ः लेखा समिति सभापति शाह
बुटवल,२७ पुस ।
कञ्चन जेसिज बर्ष २०२१ का लागि पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आइतवार सम्पन्न भएको छ । कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले बर्ष २०२१ का लागि नव निर्वाचित अध्यक्ष राधिका चौधरीलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रतिनीधि सभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले राजनैतिक दलका नेता र कार्यकर्ताहरुमा पद र पैसाको लोभ बढ्दै गएका कारण पार्टीमा समस्या उत्पन्न हुने गरेको बताए ।
पद र पैसाको भागबण्डामा कुरा नमिलेकै कारण दक्षिण एशियाकै सबै भन्दा ठूलो भनिएको नेपालको कम्युनिष्ट पार्टीमा आपसी झगडा भएको र त्यो झगडालाई समाधान गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले आवेशमा संसद बिघटन गरेको आरोप लगाए ।
समाजमा स्वच्छ छवि भएका निस्वार्थ भावका समाजसेबी,शैक्षिक ब्यक्तित्व र दिग्गजहरुका सामु लोभ र लालच भएका नेताहरुले असल ब्यक्तित्वहरुलाई अगाडी आउन नदिन आफु जस्तै लोभी मान्छेहरु प्रयोग गर्ने गरेको उनको आरोप थियो ।
देशमा भ्रष्टचार,अनियमितता,कमिसनका नायकहरु अचम्म लाग्दो रुपमा फस्टाई रहेको भन्दै शाहले उनिहरुको संरक्षण हामी जस्तै सांसद,मन्त्री र सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट भइरहेको दाबी गरे ।
लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँले नेपाली राजनीतिमा अहिले जत्तिको फोहोरी खेल र भ्रष्टचार बिगतमा कहिलै नभएको बताए ।
हिजो कम्युनिष्टको सरकार आएपछि सबैले बराबर आधिकार पाउछन र देश समृद्ध हुन्छ भन्ने कथा सुनाउने कम्युनिष्ट नामका कपटी कथाकारहरु आज भ्रष्टचार,अनियमितता र कमिसनमा चुर्लुम्म डुबेको उनको आरोप थियो ।
लुम्बिनी प्रदेशका अर्का सांसद पुष्पा चौधरीले नेपाल कम्युनिष्ट पार्टी (नकपा)का पुर्व प्रधानमन्त्री,मन्त्री र सांसद भइसकेकाहरुले आफ्नो मान प्रतिस्ठा र मर्यादा भुलेर आफ्नै घरभित्रका सदस्यहरुको आलोचना गर्दा निकृष्ट र अमर्यादित भाषा प्रयोग गर्नु कम्युनिष्ट पार्टीमा अनुशासन बिहीनताको नमुना भएको बताइन्
।
कार्यक्रममा नेपाल जेसिज बर्ष २०२१ का महासचिव सिनेटर बिकास मानन्धर,कञ्चन जेसिजको मातृ शाखा सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवाली लगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
कञ्चन जेसिज बर्ष २०२१ का लागि पुष १८ गतेको दोश्रो अधिबेशनले राधिका चौधरीको अध्यक्षतामा १३ सदस्सीय कार्यकारी समिति निर्विरोध निर्वाचित गरेको थियो ।
अधिबेशनले चित्र तुलाचन र बुद्धि प्रसाद रेग्मीलाई कार्यकारिणी उपाध्यक्ष,सरला ढकाल,प्रिया तरामु,बिष्णु प्रसाद पौडेल र प्रकाश उपाध्यायलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो भने सचिवमा दिपा थारु र सह कोषाध्यक्षमा ममता कार्की निर्वाचित भएका थिए ।
त्यस्तै नेपाल जेसिजको बिधान अनुसार महासचिव पदमा मोहराज शर्मा,कानुनी सल्लाहकारमा राजन शर्मा पौडेल र कोषाध्यक्ष पदमा सुमन सुबेदीलाई अध्यक्ष चौधरीले मनोनित गरी समितिलाई पुर्णता दिएका थिए ।