काठमाडौं,२५ पुस ।
प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदमको विरोधमा राजधानी काठमाण्डौमा नागरिक प्रदर्शन भएको छ ।
संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् ।
प्रदर्शनमा डा. गोविन्द केसी लगायतका नागरिक अगुवाहरु ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित प्रदर्शनमा सहभागी भएका थिए ।
त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली अवैध प्रधानमन्त्री भएको बताए । ओलीले संविधान र लोकतन्त्रलाई अपहरण गरेको त्रिपाठीको आरोप छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिए । नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसको विरोधमा सर्वोच्च अदालतमा एक दर्जन बढी रिट दर्ता भएका छन् ।