Share this News on Social Networking Pages

धर्मराज भट्टराई

चाहे सूर्य पश्चिम बाटै उदाउँछ, भन्दिनुहोस्
चाहे डकर्मीले नै रेल कुदाउँछ, भन्दिनुहोस्
तपाईंकै विचार अनि सिद्धान्त, बोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।

जिस्क्याउनुहोस् , उडाउनुहोस् , अनि सबैलाई हँसाउनुहोस्
हाँस्न नखोज्नेलाई, पद – प्रतिष्ठा दिएरै भए पनि फसाउनुहोस्
सित्तैमा पाए जति पनि सोमरस, धोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।

हिजोका साथीहरू सबै, दुश्मन भए, भन्दिनुहोस्
मुलुकका विद्धान वर्ग सबै , राँची गए, भन्दिनुहोस्
हजुरले नै सिकाएका पाठ, घोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।

मै जाति, मै राम्रो , लुट छन् अरू यहाँ, भन्दिनुहोस्
मै ठिक, मै सत्य , झूट छन् अरू यहाँ, भन्दिनुहोस्
तपाईंकै एक बोलीमा अरूलाई, टोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।

सहिदका रगत, देश विकासका लागि थियो, भन्दिनुहोस्
गठन – विघटन कार्य, निकासका लागि थियो, भन्दिनुहोस्
बुझी- बुझी बुझ पचाएर, खोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।
साहित्यपाटीबाट