Share this News on Social Networking Pages

काठमाण्डाै,२३ पुस । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शनको क्रममा अमेरिकामा एक महिलाको ज्यान गएको छ ।

ट्रम्प समर्थकले संसद भवनभित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा प्रदर्शन गर्नेमध्येकै एक महिलालाई गोली लागेको हो ।

गोली लागेपछि महिलालाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बीबीसीले जनाएको छ । राष्ट्रपति चुनावको मत परिणाम उल्ट्याउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको हो ।

वाशिङ्टनमा रहेकाे संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो ।

यसै क्रममा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरेका हुन् । प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरेर चुनाव रद्द गर्न माग गरेका थिए । झण्डै तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति सामान्य भएको छ ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।

यस हिंसाकाबीच राष्ट्रपतिमा निर्वाचित बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन ।