काठमाडौँ,२१ पुस ।
नेकपा (दाहाल–नेपाल पक्ष) का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् ।
संसद् विघटनको बिषयमा जनता समाजवादी पार्टीले मंगलबार काठमाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सनकका भरमा संसद् विघटन गरेकाले त्यसका विरुद्धमा सडक प्रदर्शनमा आउन आग्रह गरेका हुन् । ’एकजनाको सनकको भरमा, एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन सक्दैन । देशको भाग्य र भविष्य खाडलमा पार्न सकिँदैन । यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढौं,’ उनको आग्रह थियो ।
ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धि धरापमा परेकाले सडक संघर्षमा मिलेर जानुपर्ने नेपालको भनाइ थियो ।
स्थायित्वका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै नेपालले त्यसबारे ओलीको साथमा रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलका पुराना कुरा पढ्नुपर्नेमा जोड दिए । स्थिरताका लागि संविधानले गरेका व्यवस्थालाई मानेर अगाडि बढ्नुपर्ने र तिनलाई जोगाउनुपर्ने उनले बताए ।