Share this News on Social Networking Pages

बुटवल,२१ पुस ।
बुटवल स्थित ग्लोबल आवाजको आयोजनामा रुपन्देहीमा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समय खेल गतिविधि सुन्य भएको अवस्थामा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुन लागेको हो ।

रुपन्देहीका सञ्चारकर्मी र सञ्चारगृहहरु बीच आपसी सद्भाव तथा मैत्री सम्बन्धका लागि ‘प्रथम टेन स्टिल्स फुटसल–२०७७’ आयोजना गरिएको ग्लोबल सञ्चार गृहले जनाएको छ ।

आयोजक ग्लोबल सञ्चार गृहद्वारा सञ्चालीत ग्लोबल आवाजले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
आगामी माघ ३ गते रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा मैत्रीपूर्ण प्रतियोगिता हुने जनाइएको छ ।

कोरोना महामारीका बीच पनि जोखिम मोल्दै निरन्तर सूचना संकलन गर्ने सञ्चारकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाउन टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सञ्चार गृहका प्रवन्ध निर्देशक गौतम भुसालले बताए ।

रोटरी क्लब अफ रुपन्देही सह आयोजक रहेको प्रतियोगितामा टेन स्टिल्स प्रा.लि.को मूख्य प्रायोजन तथा हाई लाइफको सह प्रायोजन रहेको उनले जानकारी गराए ।

कार्यक्रममा अनलाइनका सम्पादक एन.बी. कंडेलले महामारीमा सञ्चारकर्मीलाई परेको असरबाट टाढा हुन र जारी समस्या र संकट भन्दा केही फरक तथा मनोरञ्जनका गतिविधिमा संलग्न हुनका लागि प्रतियोगिताले टेवा पुर्याउने विश्वासमा प्रतियोगिताको आयोजना गरिएको बताए ।

‘प्रतियोगिताले लामो समयपछि सञ्चारकर्मीलाई एउटै ठाउँमा भेला गराउनुका साथै आपसी एकता र सद्भाव बढाउनेमा आशा गरेका छौं ।’–उनले भने ।

कार्यक्रममा सह प्रायोजक हाइ लाईफ फुड्सका अध्यक्ष पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निर्वतमान अध्यक्ष सुरज खत्री, ग्लोबल मिडिया ग्रुपका एचआर तथा पिआर प्रमुख प्रदिप नेपाल, मिडिया पार्टनर राज्य टेलिभिजनका यमलाल भुषाल र बुटवल टुडे दैनिकका विश्वास ढकालले सुझाब सहितको भनाई राखेका थिए ।

जिल्लाभरका विभिन्न सञ्चार गृहमा आवद्ध तथा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु बीच हुने प्रतियोगितामा २० वटा टिमको सहभागीता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक डि.बी. सुस्लिङले बताए ।

प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उप विजेताले १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत रुपमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तिलोत्तमा–५ मा अवस्थित यूनिक फुटसलमा हुने प्रतियोगिताका लागि करिब ४ लाख खर्च अनुमान गरिएको उनले बताए ।

राज्य टेलिभिजन र बुटवल टुडे दैनिक मिडिया पार्टनर रहेको प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रमको संचालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन् ।