Share this News on Social Networking Pages


लाल्टिन जुलुसदेखि बयलगाडा प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक

काठमाडौँ,२१ पुस ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

दाहाल–नेपाल पक्षको अनेरास्ववियूले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ ।

पुस २२ गते उपत्यकामा लालटिन जुलुस निकाल्ने, उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने लगायतका कार्यक्रम तय भएको अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले बताए ।

त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । संघीय संसद्बाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताए ।

उनले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताए ।

सह–संयोजक तामाङले प्रतिनिधि सभा पुनःस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियूले अझै सशक्त कार्यक्रम गर्ने बताए । माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।