नेपालगञ्ज,२१ पुस ।
बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक, बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुष र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष रहेका छन् ।
दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ७ः४५ उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाँकेका ६८ वर्षीय पुरुषमा पुस ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी भेरी अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति १२ः२५ बजे उनको मृत्यु भएको हो ।
कञ्चनपुरका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ७ः२० बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।