कञ्चनपुर,२१ पुस ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । घाइते हुनेमा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार रहेका छन् ।
सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा उहाँको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।
घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।
साँझको घटना भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको उनले बताए । भारतीय भूमिमा गोली चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता प्रकट गरेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।
घटनाबारे आवस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।