बुटवल,२० पुस
राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् ।
आफैले बनाएको संविधानको खिलापमा प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, जनआकांक्षा बिपरित प्रतिगामी भएको आरोप लगाएका छन् ।
संसद विघटनले निम्ताएको संकटको समाधानका लागि संसद पुर्नस्थापना गरेर असंवैधानिक कदम सच्चाउनु पर्नेमा जोड दिए । तत्कालिन प्रधामन्त्री मनमोहन, गिरिजा, शेरबहादुरलाई संविधानले संसद विघटनको अधिकार दिएपनि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कूनै अधिकार नदिएको उनीहरुको तर्क छ ।
राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालले बुटवलमा आयोजना गरेको संविधान विघटन, राजनीतिक संकट र निकास विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले पार्टी भित्रको झगडा मिलाउन नसकेर प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्दा संकट आएको बताएका हुन ।
संसद विघटनले देशमा राजनीतिक अस्थिरता आएको अवस्थामा अहिले राजावादी र विदेशी शक्ति केन्द्रहरुले नेपालमा चलखेल बढाएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरेर संसद विघटन गरेको बताउंदै प्रधानमन्त्री ओलीको प्रतिगामी कदमले संविधान र यो व्यवस्था नै संकटमा परेको बताए ।
प्रतिगामि दृष्टि र सोच भएको मानिसलाई नेतृत्व दिदा संविधान र संसद संकटमा परेको भन्दै उनले संसद पुनस्थापना मात्रै अहिलेको निकास निकास भएको उल्लेख गरे ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले राजनीतिक दृष्टिकोणबाट संसद विघटन प्रतिगामी कदम भएको बिचार व्यक्त गरे ।
माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवरले संसद विघटनले राजनीतिक संकट उत्पन्न भएको बताउंदै संसद पुर्नरस्थापनाले पनि सबै समस्याको हल हुन नसक्ने बताए ।
नेकपा निकट युवासंघका नेता राजु गुरुङले जननिर्वाचित प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताउंदै पार्टीको विधान, नीति र कानुनको परिधी मिचेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु नेपाली जनतामाथिको घात भएको बताए ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, नेपाली कांगे्रसका खेलराज पाण्डे,नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिव खगेन्द्र न्यौपाने, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, लेखक ऋषि आजाद लगायतले बोल्दै संसद विघटनका बिरुद्व जनस्तरबाट आन्दोलनको विकल्प नभएको बताए ।