नवलपरासी पूर्व २० पुस ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले बैशाखमा कुनै हालतमा निर्वाचन हुनै नसक्ने बताएका छन् ।
भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई संसद बिघटन गर्ने बहाना मात्रै भएकोले बैशाखमा कुनै हालतमा निर्वाचन हुनै नसक्ने बताए ।
निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले बैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने भुसालको भनाई थियो ।
पुर्वी नवलपरासीको देवचुलीमा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले भने, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, बैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ उनले बैशाखअघि नै प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी समेत गरे ।
पूर्वराजा ज्ञानेन्द्रले विघटन गरेको संसदसमेत पुनर्स्थापित भएको स्मरण गर्दै भुसालले अहिले पुर्नस्थापना नहुने प्रश्नै नआउने उल्लेख गरे ।
पार्टीका सबै कमिटी र संसदीय दलमा अल्पमतमा परेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप लगाउदै उनले असंवैधानिक रुपमा विघटन गरिएको संसद अदालतले पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीतर्फ संकेत गर्दै भुसालले जसले संसद विघटन गर्याे उसैले निर्वाचन गर्छु भन्नुले पनि चुनाव हुने कुरा पत्याउनै नसकिने बताए ।
तत्काल संसद पुनर्स्थापना नभए मुलुकमा अस्थिरता पैदा हुन सक्ने उनको भनाई थियो ।