Share this News on Social Networking Pages

काठमाडौं,२० पुस ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र र ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ ।

आइतबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा माघ ३ गते ७ सय ५३ वटै स्थानीय तहमा र माघ ८ गते स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जिल्ला समितिले आफ्नो अनुकूल तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनले आ–आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए ।

बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मसान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले जनाए ।