पाल्पा,८ मंसिर ।
आफ्नै साथीलाई ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा पाल्पामा एक जना पक्राउ परेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा विवाद तथा झै-झगडाका क्रममा ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८३ मङ्सिर ६ गते साँझ अन्दाजी ६:०७ बजे ४५ वर्षीय नन्दलाल बजगाई र ३५ वर्षीय नारायण लम्तरीबिच विवाद हुँदा लम्तरीले बजगाईको टाउको तथा शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि जिल्ला अस्पताल पाल्पा पुर्याइएका बजगाईलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका लम्तरीलाई खोजतलास गर्ने क्रममा मङ्सिर ७ गते साँझ अन्दाजी ६:४५ बजे रैनादेवी छहरा गाउँपालिका–४ छहराबजारस्थित जलधारा होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






