बुटवल,२२ कार्तिक ।
रुपन्देही प्रहरीले ७ लाख १२ हजार ६७० रुपैयाँ मूल्य बराबरका अवैध मोबाइल सामग्रीसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
आइतबार बिहान लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मसिनाबाट प्रहरीले अवैध रूपमा ल्याउँदै गरेका मोबाइल सामग्री बरामद गरेको हो ।
प्रहरीका अनुसार १ हजार ३१ थान टेम्पर्ड ग्लास, २४० थान कर्भ्ड ग्लास, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानललगायत सामग्री बरामद भएको छ ।
बरामद मोबाइल सामग्रीको मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ र मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






