काठमाडौँ,२१ कार्तिक ।
सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए । ‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो ।

न्याय परिषद्ले गत असोज २ मा सर्वोच्चको न्यायाधीशका लागि उनीहरूको नाम सिफारिश गरेको थियो । बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने अन्य तीनै जना उच्च अदालतका न्यायाधीश हुन् ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिनेछ। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।