बिमलराज भट्टराई

हिन्दु परम्पराअनुसार तिहारको कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा धन्वन्तरि जयन्ती मनाइन्छ । यस वर्ष कार्तिक २१ गते शनिबार परेको यस दिनलाई राष्ट्रिय आयुर्वेद दिवसका रूपमा समेत मनाइन्छ । भगवान धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तक तथा आरोग्यका प्रतीकका रूपमा श्रद्धा गरिन्छ ।

आयुर्वेद केवल रोग लागेपछि उपचार गर्ने पद्धति मात्र होइन, रोग लाग्न नदिन अपनाउनुपर्ने स्वस्थ जीवनशैलीको ज्ञान पनि हो । सन्तुलित आहार, नियमित व्यायाम, योग तथा प्राणायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र स्वच्छता यसको महत्वपूर्ण आधार हुन्। आज बढ्दै गएका मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा अन्य दीर्घरोगका सन्दर्भमा यी कुराको महत्व अझ बढेको छ।

आधुनिक चिकित्सा र आयुर्वेदलाई एकअर्काको प्रतिस्पर्धी होइन, वैज्ञानिक प्रमाण र सुरक्षित उपचारका आधारमा अघि बढाउन आवश्यक छ । कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना बन्द गर्ने वा परिवर्तन गर्ने गर्नु हुँदैन ।

नेपाल प्राकृतिक तथा जैविक विविधताले सम्पन्न मुलुक हो। यहाँ पाइने बहुमूल्य जडीबुटी,औषधिजन्य वनस्पति र परम्परागत ज्ञानको वैज्ञानिक अनुसन्धान, संरक्षण, प्रशोधन र व्यावसायिक उपयोग गर्न सके नेपाललाई विश्वकै महत्वपूर्ण आयुर्वेद अध्ययन तथा अनुसन्धान केन्द्र बनाउन सकिन्छ । यसले स्वास्थ्य सेवा मात्र होइन, रोजगारी, उद्योग, पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ।

धन्वन्तरि जयन्तीले हामीलाई रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन स्वास्थ्यप्रति सचेत रहनुपर्ने सन्देश दिन्छ। स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार हुन् ।

अन्त्यमा,हाम्रो मौलिक चिकित्सा ज्ञान र संस्कृतिको संरक्षण गरौँ। स्वास्थ्यप्रति सचेत बनौँ र आयुर्वेदको वैज्ञानिक विकासमा सबै पक्षको ध्यान जाओस् ।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्वन्तरि जयन्ती, राष्ट्रिय आयुर्वेद दिवस तथा तिहारको हार्दिक मंगलमय शुभकामना !
(अधिवक्ता समेत रहेका भट्टराई बुटवल उद्योग बाणिज्य संघका निवर्तमान बाणिज्य उपाध्यक्ष हुन् )