बुटवल,२० कार्तिक ।
सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा रुपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका व्यक्तिहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–३२ का २८ वर्षीय अनु कुमार नट, बारा बारागढी गाउँपालिका–३ का १९ वर्षीय सरोजकुमार पासवान, पर्सा वीरगञ्ज महानगरपालिका–३२ का ३४ वर्षीय सुमन सिंह र सोही स्थानका ५० वर्षीय अनिल राय छन् ।
त्यस्तै, पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३६ वर्षीय विजय राय नट, पर्सा पकहाँ मैनपुर गाउँपालिका–५ का ३९ वर्षीय रामबाबु राय र गुल्मी इश्मा गाउँपालिका–१ की ३४ वर्षीया मिनाकुमारी कुमाल पनि पक्राउ परेका छन् ।
उनीहरूलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।






