काठमाडौँ,१९ कार्तिक ।
आफुलाई सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ ।
बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरेको रिट अदालत प्रशासनले बिहीबार दर्ता नगरी अध्ययनकै क्रममा राखेको हो । रिट दर्ता हुने वा नहुने शुक्रबार मात्रै टुंगो लाग्ने भएकाले तिहार अघि सुनुवाइको सम्भावना टरेको छ । शुक्रबार रिट दर्ता गरे पनि तिहारपछि मात्रै सुनुवाई अगाडि बढ्ने छ ।
आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायी टिकाबहादुर कुँवरमार्फत रिट दिएका हुन् । प्रशासनले उक्त रिट अध्ययनकै क्रममा रहेको जानकारी दिएको र बिहीबार दर्ता नगरेको कुँवरले जानकारी दिए ।
सरकारले कार्कीलाई बुधबार प्रहरी महानिरीक्षकबाट हटाएको थियो। कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी नियुक्त गरिसकेको छ ।
केसीले बुधबार नै दज्र्यानी चिन्ह लगाएर पदभार समेत ग्रहण गरिसकेका छन् । तर आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कार्की सर्वोच्च पुगेका हुन् ।
उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ। यो पद बुधबार उनलाई आईजीपीबाट हटाएर लैजानैका लागि बुधबार मात्रै सिर्जना भएको हो ।
नवनियुक्त आईजीपी केसी पनि कार्कीकै ब्याची हुन् । उनलाई हटाउन केसी सक्रिय भएको संकेत पाएपछि उनीहरुको सम्बन्ध चिसिएको थियो ।
कार्की एक वर्ष नपुग्दै आईजीपीबाट हटाइएका हुन् । उनको सेवा अवधि अझै १७ महिना बाँकी छ ।






