बुटवल,१९ कार्तिक ।
बुटवल उपमहानगरपालिका वडा नं १९ काे नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ ।
नवनिर्मित कार्यालय भवनको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले नवनिर्मित भवनबाट वडावासीलाई सहजरूपमा सेवा प्रवाह हुने बताए ।
बुटवल उपमहानगरपालिकाले वडा नं १९ मा वडा कार्यालय भवन निर्माणका अलावा सडक,सिंचाइ,कृषि तथा स्वराेजगारमुलक सीपमूलक तालिमका लागि ठूलो धनराशि खर्च गरेको उल्लेख गर्दै उनलेे आगामी दिनमा पनि त्यस्ता सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरे ।
उपप्रमुख सावित्रा देवी अर्यालले नवनिर्मित कार्यालयबाट जनताले सहजरूपमा सेवा प्राप्त गर्न सकेमात्र कार्यालय भवन निर्माणकाे औचित्य पुष्टि हुने भन्दै साेही अनुसार सेवा प्रवाह गर्नुपर्नेमा जाेड दिइन् ।
बुटवल उपमहानगरपालिका वडा नं १९ का अध्यक्ष चन्द्रसिं थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली,पुर्वाधार शाखा प्रमुख ई.माेहराज पाैडेल,वडा सदस्य लक्ष्मी थारू,वडा सचिव मेघराज काफ्लेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
२ करोड ७३ लाख लागतमा वडा कार्यालय र ३५ लाखकाे लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको वडा सचिव काफ्लेले जानकारी दिए ।






