बुटवल,१७ कार्तिक ।
बुटवल उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्दै पदस्थापन गरिएको छ । सोमबार आयोजित एक समारोहबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथग्रहणसहित पदभार सम्हालेका हुन् ।

संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनबाट नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा वसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा टीकाराम बन्जाडे, सचिवमा दीपक चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल निर्वाचित भएका थिए ।
त्यस्तै, कार्यसमिति सदस्यमा एसोसिएटतर्फबाट बालकृष्ण पौडेल, उद्योगतर्फबाट सुनिता शर्मा बन्जाडे, गोपाल टन्डन, लेखनाथ भण्डारी र ज्ञानबहादुर पुन, वाणिज्यतर्फबाट गणेशप्रसाद भट्टराई, सुनिता गिरी, रामबहादुर भण्डारी र उमेश अमात्य निर्वाचित भएका थिए।
खुलातर्फबाट विष्णु (कमला) पन्थ घिमिरे, दीपक घिमिरे, सुनिता अर्याल, प्रदीप शाक्य, विष्णुप्रसाद उपाध्याय, गोपालप्रसाद बस्याल र विजयकुमार वर्णवाल तथा महिलातर्फबाट रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले शपग्रहण गराएका थिए ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष नरिश्वर शर्मा पौडेलले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै संघलाई उद्योगी तथा व्यवसायीको हकहित संरक्षण र औद्योगिक विकासका लागि थप सक्रिय बनाउने बताए। उनले निजी क्षेत्रका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संघले औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानमा अर्थपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले बुटवलको औद्योगिक तथा व्यावसायिक विकासको योजना बनाउँदा भविष्यको बुटवल कस्तो बनाउने भन्ने स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका संघका निवर्तमान अध्यक्ष हरिप्रसाद अर्यालले आफ्नो कार्यकालमा उद्योगी तथा व्यवसायीको हकहित संरक्षण, व्यावसायिक वातावरण र उद्यमशीलता विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै इमानदार प्रयास गरेको बताए । उनले आफ्नो कार्यकालमा भएका प्रयासबाट सकारात्मक परिणाम प्राप्त भएको उल्लेख गरे । सो अवसरमा उनले संघका पूर्वअध्यक्ष,आफ्नो कार्यकालका पदाधिकारी तथा सदस्य र कर्मचारीलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।






