काठमाडौँ,१६ कार्तिक ।
चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ ।
सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगरसँग ३५ रनले पराजित भएको थियो ।
चितवनले भने तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो ।
चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २१ बलमा ६ चौका र २ चौका हाने। इशान पाण्डे २५ रनमा एलबीडब्लु धरापमा परे ।
विनोद भण्डारी ११ र सैफ जैव २ रन बनाउँदै पेभेलियन फर्के। कप्तान दीपेन्द्र सिंह ऐरि गोल्डेन डकआउट भए। आरिफ शेख २० र सेरफाने रदरफोर्ड २१ रनमा अविजित रहे ।
चितवनका लागि रन्जित कुमारले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा २८ रन खर्चे। रिजन ढकाल र मौसम ढकालले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि रवि वोपाराले सर्वाधिक ४९ रनको योगदान दिए । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ४० बलमा ३ चौका र २ छक्का सहयोगमा ४९ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए ।
डविड मलान १६ रन बनाउँदा दीपेन्द्रको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भए।
ओपनर देव खनाल ७ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन साउद १५ रनमा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए ।
कप्तान सिकन्दर राजा १५ रनमा क्याच आउट नै भए। विवेक यादव १७ रनमा रनआउट भए।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले २ विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरि र अनिल खरेलले समान एक विकेट आफ्नो नाममा गरे ।
एनपीएलमा मंगलबार २ खेल हुनेछ। दिनको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।
दिनको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ ।






