काठमाडौँ,१५ कार्तिक ।
ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङमा जनकपुरले बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा भने काठमाडौँलाई ८ विकेटले हराएको थियो ।

तीन खेलमध्य १ मा हार र २ जित निकालेको जनकपुरले अंक तालिकामा ४ अंक जोडेको छ ।

जनकपुरले दोस्रो जित निकालेको दिन पोखराले भने लगातार दोस्रो हार व्यहोरो छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको हो ।

जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो ।

पोखरालाई कम स्कोरमा रोक्न जनकपुरका मोइन अलीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र १३ रन खर्चेर ३ विकेट लिए ।

सैफ हसन र हरमित सिहंले समान २ विकेट लिए । जिम्मी निसम र ललित राजवंशीले समान एक विकेट लिए। पोखराविरुद्धको खेलमा राहुल यादव भने विकेट विहिन रहे ।

कप्तान कुशल भुर्तेलले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो । उनले २४ बलमा ५ चौका सहयोगमा ३५ रन बनाउँदा ललितको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट भए ।

५ बलमा २ चौका र १ छक्का हानेका किरण ठगुन्ना १५ रन बनाउँदा हरमितको बलमा एलबीडब्लु धरापमा परे ।

चमिका करुनारत्ने ४ रन बनाउँदा हरमित सिंहको बलमा कट एण्ड बोल्ड भए। सकिब अल हसनले ९, मेहदी हसनले ८, अजुर्न घर्ति ७ रन बनाउँदै पेभेलियन फर्के। ओपनर दिनेश खरेल ३, मोहम्म्द सैफुद्दिन शुन्य रनमा नै आउट भए ।

विपिन आचार्य र विपिन खत्रीले पोखराको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि टोलीको हार टार्न सकेनन्। विपिन आचार्य २० रन बनाउँदा जिम्मी निसमको बलमा क्याच आउट भए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको थियो ।

जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का हान्दा मेहदी हसनको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। उनले ४९ बलमा ६ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

एनपीएलमा तृतराजले हानेको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्दसिंह ऐरि र लोकेश बमले अर्धशतक हानेका थिए ।

अर्का ओपनर मोइन अली २१ रन बनाउँदा सकिब अल हसनको बलमा क्याच आउट भए। उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

जिम्मी निसम ११ रनमा क्याच आउट भए । कप्तान हरमित सिंह र अनिल शाह समान ९ र सैफ हसनले १ रन थप्दै पेभेलियन फर्के। अविशेक तिवारी २४ रनमा अविजित रहे ।

पोखराका लागि सकिबले ३ विकेट लिए। मौहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान एक विकेट आफ्नो नाममा गरे । मेहदी हसनले आफ्नो स्पेलमा १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट लिए ।

एनपीएलमा सोमबार २ खेल हुनेछ । दिनको पहिलो खेलमा काठमाडौँ गोखार्ज र कर्णाली याक्स खेल्नेछन् । सो खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।

दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने तालिका छ । सो खेल साँझ ५ बजे सुरु हुनेछ ।