काठमाण्डाै,१५ कार्तिक ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि औपचारिक रूपमा आवेदन खुलाएको छ ।

पार्टी महामन्त्री एवम् उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने निर्णय गरेको हो ।

इच्छुक आकाङ्क्षीहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन दिन सक्नेछन् । उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र वैज्ञानिक बनाउन पार्टीले सात वटा विशेष उपसमिति समेत गठन गरेको छ । जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ ।

पार्टी प्रवक्ता जगदीश खरेलले सार्वजनिक गर्नुभएको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ बमोजिम अब उम्मेदवारहरू केवल नेताको निगाहबाट नभई लिडरशिप एकेडेमीको प्रशिक्षण, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र पार्टी सदस्यहरूको अनलाइन प्रारम्भिक मतदानसहितको चार वटा मुख्य आधारको वैज्ञानिक भाराङ्कका आधारमा छनोट हुनेछन् ।