कांग्रेस सरकारसँग सहकार्य र प्रतिवाद दुवैका लागि तयार रहेको सन्देश
काठमाडौँ,१५ कार्तिक ।
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिताले सीमा नाघेको आरोप लगाएका छन् ।
उनले सरकारका गलत कामकारबाहीप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो चरित्रमाथि प्रश्न उठाए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै थापाले विगतमा कांग्रेस गठबन्धन सरकारमा रहँदा सरकारले गरेका गलत कामको विरुद्धमा आफूहरूले सरकारभित्रैबाट आवाज उठाएको स्मरण गराए । ‘हामी विगतमा गठबन्धन सरकारमा हुँदा पनि सरकारले कुनै नराम्रो काम गरे त्यसको विरुद्धमा प्रस्ट रूपमा आवाज उठाउँथ्यौँ,’ थापाले भने, ‘त्यसबेला रास्वपाका नेता तथा सांसदहरूले ‘कांग्रेसले गल्ती गर्यो, यसको जवाफ दिनुपर्छ’ भन्नुहुन्थ्यो । तर, आज आफ्नै पार्टी संलग्न रहेको सरकारको हकमा चाहिँ यो विषय लागु नहुने हो ?’
रास्वपाले सरकारका गलत कदमप्रति केवल औपचारिक वक्तव्य निकालेर पन्छिन नमिल्ने बताउँदै उनले नतिजामुखी कदम चाल्न चुनौती दिए। ‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ,’ थापाले अगाडि भने, ‘साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन बोकेर कार्यान्वयनमा लगियोस् । हामीले हेर्न चाहेको त्यो हो ।’
सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै थापाले सत्ताको आडमा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यता मिच्ने छुट कसैलाई नहुने बताए ।
सभापति थापाले मुलुकलाई अहिले त्रासको नभई भरोसाको आवश्यकता रहेको बताउँदै सरकारलाई डर देखाएर नभई विश्वास जितेर शासन चलाउन चेतावनी दिए ।
चारैतिर अस्तव्यस्तता र गञ्जागोल सिर्जना गरेर सुधार सम्भव नहुने स्पष्ट पार्दै थापाले सुशासनका लागि सहयोग गर्न प्रतिपक्ष तयार रहँदा पनि सरकार भने प्रतिशोध र धरपकडमा मात्र केन्द्रित भएको आरोप लगाए ।
‘हामीले सरकारलाई बारम्बार भनिरहेका छौँ– सुशासनका लागि सरकारले के गर्न चाहेको हो, त्यसका लागि हामी सहयोग गर्छौँ,’ थापाले भने, ‘तर सरकार यी सबै सुधारका विषय छोडेर मान्छे समात्न मात्र पछि परिरहेको छ । यो वेलामा देशलाई विश्वास चाहिएको छ, डर होइन भरोसा चाहिएको छ । यति धेरै गञ्जागोल बनाएर कहिँकतै सुधार गर्न सकिन्न ।’
पत्रकारहरूको कार्यालयमा भएको अनधिकृत प्रवेश र धरपकडलाई विषयान्तर गर्न खोजिएको भन्दै उनले कडा आपत्ति जनाए । ‘पत्रकारहरूको अफिसमा पसेर अनधिकृत काम गर्ने अनि पछि त्यो विषयलाई पन्छाउने र विषयान्तर गर्ने काम हामीलाई मान्य छैन,’ उनले भने, ‘यसको दोषी को हो ? हामीलाई स्पष्ट परिणाम चाहिन्छ । कानुन उल्लङ्घन गरेर स्वेच्छाचारिता देखाउन पाइँदैन। कानुन विपरीत काम हुँदैन भन्ने कुरा परिणाममा देखिनुपर्छ।’
राज्यका संयन्त्रहरू निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले अनुसन्धान पूर्वाग्रही हुन नहुने बताए । ‘अनुसन्धान ‘सेलेक्टिभ’ (छानीछानी) हुनु हुँदैन । शासन चलाउने व्यक्तिले अनुसन्धानलाई आफू अनुकूल बनाउने विषय लोकतन्त्रमा मान्य हुन सक्दैन,’ थापाले थपे, ‘संवैधानिक निकायहरू पूर्ण रूपमा निष्पक्ष हुनुपर्छ। जहाँ अनियमितता भएको छ, त्यहाँ निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ ।’
सरकार आफ्नो मूल दायित्वबाट विमुख भएको टिप्पणी गर्दै थापाले तत्काल विपद् प्रभावितहरूको घाउमा मलम लगाउन आग्रह गरे । ‘सरकारको सम्पूर्ण ध्यान र फोकस यतिखेर विपद्मा परेका नागरिकको पुनर्स्थापना र राहतमा लाग्नुपर्ने हो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको रूपमा जनताले कांग्रेसलाई म्यान्डेट दिएका छन् भन्ने विषय सरकारले राम्रोसँग बुझोस् ।’
कांग्रेस सरकारसँग सहकार्य र प्रतिवाद दुवैका लागि तयार रहेको स्पष्ट पार्दै थापाले आफूहरू सत्तारुढ दलसँग खुला बहस गर्न तयार रहेको बताए । साथै, उनले व्यापक नागरिक संवाद थाल्ने घोषणा पनि गरे ।
‘हामी सरकारसँग सहकार्य गर्न पनि तयार छौँ, गलत गरे प्रतिवाद गर्न पनि तयार छौँ । सरकार र सत्तारुढ दलसँग नीतिगत बहस गर्न पनि तयार छौँ,’ उनले भने, ‘यसका साथै हामी नागरिक समाजसँग संवाद गर्छौँ, नयाँ पुस्ताका साथीहरूसँग संवाद गर्न चाहन्छौँ र भदौ २३ तथा २४ गतेको आन्दोलनमा सकारात्मक सोच राखेर लाग्नुभएका साथीहरूसँग पनि बृहत् संवाद अगाडि बढाउँछौँ ।’






