कपिलवस्तु,१५ कार्तिक ।
कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

आइतबार भैरहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास तथा अनुसन्धान गर्ने क्रममा शंकास्पद दुई जनालाई चेकजाँच गर्न खोजेको थियो । सो क्रममा उनीहरूले प्रतिकार गर्न थालेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउद्दिन मुसलमान र वडा नम्बर १२ का २८ वर्षीय उमेश थारू रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले २८.८२० ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । त्यस्तै, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुईवटा मोबाइल पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको ब्युरोले जनाएको छ ।