काठमाडौँ,१४ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शनिबार बसेको रास्वपा सचिवालय बैठकले सादा पोशाकका प्रहरी समाचार कक्षमा प्रवेश, पत्रकार पक्राउ तथा धरपकड गरेको घटनाको छानबिन गर्न सरकारले निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

सचिवालय बैठकले पत्रकारमाथिको धरकपडलाई गलत बनेको उनले बताए । ‘हिजो जुन घटना भयो, त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्‍यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,’ खरेलले भने ।

यससँगै रास्वपा सचिवालय बैठकले यसमा यथाशिघ्र कारबाही गर्न पनि भनेको छ। रास्वपा प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध पार्टी भएको उनले बताए ।

‘पत्रकार पक्राउको विषय बाहिर आउनासाथ हामीले सामाजिक सञ्जाल र लेटरहेडमार्फत सरकारको ध्यानाकर्षण गराएका थियौँ। यो घटना गलत थियो र यस्तो दोहोरिनु हुँदैन,’ खरेलले भने, ‘यो सरकारी निकायबाट भएको घटना हो, त्यसैले सचिवालय बैठकले यसको गहिरो अध्ययन र छानबिन गरी दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारलाई सचेत गराएको छ।’