राष्ट्रिय निर्देशन ऐन पालना नगरेको दाबी
काठमाडौ,१३ कार्तिक ।
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको तथा संस्थाका पदाधिकारीले स्वीकृत विधान र मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएपछि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार गत असोज २३ गते सरोकारवालासँग छलफल गरी निर्देशन पालना गर्न आग्रह गरे पनि त्यसको कार्यान्वयन नभएकाले ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बनको निर्णय गरिएको हो ।
मन्त्रालयले जारी गरेको सूचनामार्फत उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ ।






