काठमाडौँ,११ कार्तिक ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको छ ।

जसको प्रभावले नेपालको वायुमण्डलमा पनि आजदेखि बादल (हाई क्लाउड्स) देखिन थालेको छ । बिहीबार कात्तिक १२ गतेदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ ।

मौसम महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात अर्नब आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट आज बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो ।

जसको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन/चट्याङ,असिनासहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

यसैगरी उक्त ३ दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा/हिमपातको सम्भावना छ ।