बुटवल,९ कार्तिक ।
पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन् ।
दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको हो । स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर सामान्य घाइते भएकी छिन् ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ः१५ बजे पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जादै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । दुर्घटनामा माया कुँवरको उपचारको क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते हुनुभएकी स्कुटर चालक केशरी कुँवरको उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






