पाल्पा,९ कार्तिक ।
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवन पोखरीको बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान बल्घाबाट कटौजेपानी मुझुङ्तर्फ जाँदै गरेको लु.प्र.०१००१ ह २४४४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । अटोमा चालकसहित ८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यही स्थानका २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु र २५ वर्षीया मञ्जु दर्लामी मध्यम घाइते भएका छन् । त्यस्तै, ६ वर्षीय इजन खाम्चा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पठाएको थियो । घाइते सबैको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






