काठमाडौँ,९ कार्तिक ।
पाकिस्तानका टी–२० कप्तान साहिबजादा फर्हानले नेपाल प्रिमियर लिग (एनपीएल) नखेल्ने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबीले) उनलाई टिममा समेटिएको भन्दै तत्काल स्वदेश फर्किन इमेल गरेको थियो ।

आफू श्रीलंकाविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा परेकाले तत्काल फर्किनुपर्ने जानकारी फर्हानले कर्णाली याक्सलाई गराएका छन् ।

आइतबार उनले यस्तो जानकारी गराएपछि सोमबार नै स्वदेश फर्किने व्यवस्था गरिदिएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताए ।

‘हाम्रो टोलीका फर्हानलाई राष्ट्रिय टोलीबाट खेल्नका लागि इमेल आयो । उहाँले ३१ तारिखमा पुनः फर्किन सक्छु । अहिलेचाहिँ म जानुपर्छ भन्नुभयो । त्यसकारण हामीले उहाँलाई रोक्न मिलेन’, घिमिरेले भने, ‘उहाँ आजै फर्किनुहुन्छ, हामीले टिकट काटिदिइसकेका छौँ ।’

कर्णालीले एनपीएलका लागि दुई जना पाकिस्तानी खेलाडी अनुबन्ध गरेको थियो । अर्का खेलाडीलाई भने पीसीबीले माग गरेको रकम तिरेर कर्णालीले राख्ने भएको छ । पाकिस्तान क्रिकेड बोर्डले हरेक खेलाडी बराबर २५ हजार अमेरिकी डलर माग गरेको छ । त्यो रकम आधा–आधा तिर्ने गरी हुसेन तलातसँग सहमति भएको स्रोतले पुष्टि गर्‍यो ।

उनीहरु दुवैजना पीसीबीबाट पहिल्यै एनओसी लिएर काठमाडौं आइसकेका थिए । तर यहाँ आएपछि पाकिस्तान क्रिकेट बोर्डले २५ हजार डलर माग गरेको थियो ।

खेलको अघिल्लो दिन महत्त्वपूर्ण खेलाडी फर्किएपछि कर्णालीले अन्य विदेशी खेलाडीको खोजी सुरु गरेको छ ।

यता पाकिस्तान क्रिकेट बोर्डको नयाँ मागबारे एनपीएल बोर्डले पनि छलफल गरिरहेको छ । एनपीएल बोर्डबाट कुनै त्यस्तो निर्णय नभए पाकिस्तानका अन्य खेलाडी पनि एनपीएलका लागि नेपाल आउने सम्भावना कम भएको छ ।

पाकिस्तानका टी–२० कप्तान साहिबजादा फर्हान, हैदर अली, हुनैन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिरले एलपीएल खेल्न विभिन्न टोलीसँग सम्झौता गरेका थिए ।